‘म अरूलाई मर्न दिनेवाला थिइनँ’– फ्लाईदुबईका पाइलटले सुनाए ककपिटभित्रको घटना

‘म अरूलाई मर्न दिनेवाला थिइनँ’– फ्लाईदुबईका पाइलटले सुनाए ककपिटभित्रको घटना


काठमाडौं । सहपाइलटले छुरा प्रहार गरेपछि ककपिटको ढोका खोलेर अरूलाई भित्र प्रवेश गराएका फ्लाईदुबईका भारतीय पाइलटले आफू अरू यात्रुलाई मर्न नदिने दृढताका साथ अन्तिमसम्म संघर्ष गरेको बताएका छन् ।

फ्लाईदुबई विमानका क्याप्टेन स्मित मच्छरले आफू भुइँमा लडिरहेको र सहपाइलटको आक्रमणमा परिरहेको अवस्थामा १७० भन्दा बढी यात्रु बोकेको विमान तीव्र रूपमा तल झरिरहेको थाहा पाएपछि केही गर्नैपर्ने महसुस गरेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कुराकानी गर्दै उनले भने, “म घाइते भएर भुइँमा लडिरहेको थिएँ । तर मैले आफूलाई भनेँ– भित्रबाट ढोका खोल्न अन्तिमपटक भए पनि प्रयास गर्नुपर्छ ।”

उनले थपे, “अरूहरू पनि भित्र आए र अवस्था नियन्त्रणमा लिन भूमिका खेले । म पक्कै पनि आफ्नै ज्यानका लागि संघर्ष गरिरहेको थिएँ, तर त्यही समयमा मैले अरूलाई मर्न दिनेवाला छैन भन्ने बुझेको थिएँ ।”

बुधबार बिहान दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको उडान नम्बर एफजेड–१०७३ ले यात्राको करिब साढे दुई घण्टापछि १७ हजार फिट अर्थात् करिब ५ हजार २०० मिटरभन्दा बढी उचाइ गुमाएको थियो ।

विमानले सुरुमा हवाई ट्राफिक नियन्त्रकलाई आपत्कालीन संकेत पठाएको थियो । त्यसपछि उसले ‘स्क्वाक ७५००’ कोड प्रयोग गरेको थियो, जुन विमान अपहरण भएको संकेत हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पछि सञ्चारमाध्यमलाई एक पाइलटले अर्का पाइलटमाथि छुरा प्रहार गरेको र त्यसपछि विमानलाई “सायद दुर्घटनाग्रस्त गराउने प्रयास” गरेको बताएका थिए ।

विमानमा रहेका यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका दुई वैकल्पिक पाइलटले सुरक्षित रूपमा साउदी अरबको उत्तरपश्चिमी क्षेत्रमा रहेको ताबुक विमानस्थलमा स्थानीय समयअनुसार बिहान ६ः५८ बजे अवतरण गराएका थिए ।

नेतान्याहुले ‘सच्चा नायक’ भन्दै प्रशंसा गरेका मच्छरलाई ताबुकस्थित अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अबुधाबी लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नेतान्याहुले फक्स न्युजसँगको कुराकानीमा आक्रमणकारी ओमानका नागरिक रहेको बताएका छन् । उनले अनुसन्धानबाट ती व्यक्ति “इस्लामवादी अतिवादी विचारधाराबाट प्रभावित” भएको देखिएको दाबी गरेका छन् ।

उनका अनुसार यात्रु र चालक दलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाँधिसकेपछि उनले विमानका कर्मचारीलाई “मलाई मार, मलाई मार” भन्दै कराएका थिए । यसबाट उनी आत्महत्या गर्न चाहन्थे भन्ने स्पष्ट भएको नेतान्याहुको भनाइ थियो ।

संयुक्त अरब इमिरेट्सले उक्त घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान सुरु गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

मच्छरको परिचय सार्वजनिक भएपछि भारतमा सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ ।

प्रधानमन्त्री मोदीसँगको कुराकानीमा मच्छरले आफू १७ वर्षदेखि विमान उडाउँदै आएको र “आँखा बन्द गरेर पनि विमानमा के भइरहेको छ भन्ने थाहा पाउन सक्ने” बताएका छन् ।

प्रधानमन्त्री मोदीले मच्छरको “साहस, धैर्य र तत्काल निर्णय लिन सक्ने क्षमताले धेरै मानिसको ज्यान बचाएको” भन्दै उनको प्रशंसा गरेका छन् । उनले मच्छरप्रति सिंगो भारत गर्व गर्ने पनि बताए ।

संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावासले बिहीबार मच्छर “स्वस्थ अवस्थामा रहेको र राम्रोसँग निको हुँदै गएको” जनाएको छ । भारतीय राजदूत दीपक मित्तलले मच्छरको साहसप्रति आफू “गर्वित” रहेको बताउँदै उनलाई भेट्न पाउँदा आफू “निकै आश्वस्त” भएको बताएका छन् ।

मच्छरले भनेका छन्, “म यो घाउलाई घाउका रूपमा हेरिरहेको छैन, किनकि त्यसरी हेर्दा मेरो स्वास्थ्यलाभ अझ कठिन हुनेछ ।”

“म यसलाई बिस्तारै अघि बढिरहेको एउटा यात्राका रूपमा लिइरहेको छु । यसमा समय लाग्नेछ, तर म पूर्ण रूपमा निको भएर फेरि स्वस्थ र सक्षम हुनेमा विश्वस्त छु ।”