चीनको दबाबबीच ताइवान पुग्यो अमेरिकाको एफ–१६भी लडाकु विमान

चीनको दबाबबीच ताइवान पुग्यो अमेरिकाको एफ–१६भी लडाकु विमान


काठमाडौं । ताइवानले लामो समयदेखि ढिला हुँदै आएको दुईवटा एफ–१६भी लडाकु विमान प्राप्त हुनुलाई अमेरिकाको सैन्य समर्थन निरन्तर रहेको संकेतका रूपमा स्वागत गरेको छ । अमेरिकाले ताइवानका लागि प्रस्तावित अर्को अर्ब डलरको हतियार प्याकेजमा राष्ट्रपतिको स्वीकृति रोकिरहेकै बेला दुई विमान ताइवान पुगेका हुन् ।

एक सिट भएका ती दुई विमान शुक्रबार पूर्वी ताइवानको ताइतुङस्थित चिहहाङ एयर बेसमा पुगेका हुन् । सन् १९९७ मा ताइवानले आफ्नो पहिलो एफ–१६ए/बी विमान प्राप्त गर्न थालेयता यी दुई विमान नै उसले प्राप्त गरेका पहिलो नयाँ एफ–१६ हुन् ।

अघिल्ला संस्करणको तुलनामा एफ–१६भीमा नर्थ्रोप ग्रुम्यानको एपीजी–८३ ‘एक्टिभ इलेक्ट्रोनिकली स्क्यान्ड एरे’ (एईएसए) राडार, अद्यावधिक एभियोनिक्स तथा लक्ष्य पहिचान र ट्र्याकिङ क्षमता सुधार गरिएको छ ।

यी दुई विमान सन् २०१९ को अगस्टमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले स्वीकृत गरेको ६६ वटा एफ–१६भी विमानको २४७.२ अर्ब नयाँ ताइवानी डलर (७.७६ अर्ब अमेरिकी डलर) को बिक्री सम्झौताअन्तर्गतका हुन् ।

यी दुई विमान अगस्टको अन्त्यतिर ताइवान पुग्ने अपेक्षा गरिएको थियो । त्यो समय चिनियाँ राष्ट्रपति सी चिनफिङको गत साता अमेरिका भ्रमण हुनुभन्दा करिब एक महिना अघिको थियो । विमान ढिला हुनुको कारणबारे ताइपेई र वासिङ्टन दुवैले सार्वजनिक रूपमा केही बताएका छैनन् ।

ताइवानका लागि करिब १४ अर्ब डलरको अर्को हतियार प्याकेज अनौपचारिक रूपमा अमेरिकी कंग्रेसको समीक्षा पार गरिसकेको भए पनि राष्ट्रपतिको स्वीकृति नहुँदा रोकिएको छ ।

सी चिनफिङप्रति ट्रम्पले गरेको न्यानो स्वागतपछि ताइवानमा केही अनिश्चितता देखिएका बेला शुक्रबारको एफ–१६भी हस्तान्तरणलाई ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले स्वागत गरेको छ ।

ताइवानका नेता विलियम लाइ चिङ–तेले ताइवानको आत्मरक्षाका लागि अमेरिकाले गर्दै आएको ‘दीर्घकालीन समर्थन’प्रति वासिङ्टनलाई धन्यवाद दिएका छन् । उनले दुई पक्षबीच सुरक्षा सहकार्य निरन्तर गहिरिँदै गएको पनि बताए ।

लाइले यो हस्तान्तरणलाई क्षेत्रीय स्थिरतासँग पनि जोड्दै यसले ‘ताइवानसहित इन्डो–प्यासिफिक क्षेत्रका साझेदारसँग मिलेर सुरक्षा अघि बढाउने’ अमेरिकी प्रतिबद्धता देखाएको बताए ।

डीपीपीका सांसद चेन कुआन–टिङले पनि विमान हस्तान्तरणले शिखर बैठकपछि अमेरिकी हतियार बिक्रीमा ‘संरचनागत परिवर्तन नभएको’ देखाएको बताए ।

तर विपक्षी कुओमिन्ताङका सांसद मा वेन–चुनले भने विमान आइपुगेको विषयले कार्यक्रम ढिला भइरहेको तथ्यलाई ओझेलमा पार्न नहुने बताइन् । उनले बाँकी विमान कहिले आइपुग्छन् भन्ने स्पष्ट तालिका सार्वजनिक गर्न रक्षा मन्त्रालयसँग माग गरिन् ।

उनले भनिन्, ‘दुईवटा आइपुगेका छन्, बाँकी ६४ वटा समयमै आइपुग्नुपर्छ ।’

ताइवानको रक्षा मन्त्रालयले यसै वर्षको अन्त्यसम्म सबै ६६ वटा लडाकु विमान प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर कार्यक्रम निर्धारित समयभन्दा निकै पछाडि परेको छ । ताइवानी अधिकारीहरूले उत्पादन लाइन स्थानान्तरण र आपूर्ति शृंखलामा आएको अवरोधलाई ढिलाइका मुख्य कारण बताएका छन् ।

रक्षा मन्त्री वेलिङ्टन कू ली–सिउङले शुक्रबार थप एफ–१६भी विमान यस वर्षको अन्त्यसम्म हस्तान्तरण हुने बताए । तर कति विमान आउनेछन् भन्ने उनले खुलाएनन् ।

पहिला दुई विमानको ताइवानसम्मको यात्रा पनि अपेक्षाभन्दा निकै लामो भएको थियो ।

ती विमान अगस्ट १७ मा अमेरिकी मुख्य भूभागबाट उडेका थिए र हवाई इन्धन भर्ने प्रणाली प्रयोग गर्दै अगस्ट २१ मा हवाईस्थित जोइन्ट बेस पर्ल हार्बर–हिकम पुगेका थिए । केही दिनमै ताइवानतर्फ उड्ने अपेक्षा गरिए पनि ती विमान करिब ६ हप्तासम्म त्यहीँ रोकिएका थिए ।

ताइवानी सञ्चारमाध्यम र सैन्य पर्यवेक्षकहरूले प्राविधिक समस्या, खराब मौसम र इन्धन भर्ने ट्यांकर विमान उपलब्ध नहुनुलाई सम्भावित कारणका रूपमा औँल्याएका थिए ।

विमान ढिला हुनुको कारण सार्वजनिक नगरिएपछि सी चिनफिङको अमेरिका भ्रमणअघि राजनीतिक रूपमा संवेदनशील हतियार हस्तान्तरण गर्न वासिङ्टनले नचाहेको हुन सक्ने अड्कलबाजी पनि ताइवानमा भएको थियो ।

ताइवानी ‘युनाइटेड डेली न्युज’ले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै यसै साता हवाईमा उपकरणसम्बन्धी समस्याका कारण विमान रोकिएपछि सीको भ्रमणका क्रममा थप जटिलता नहोस् भनेर वासिङ्टनले हस्तान्तरण रोक्न चाहेको जनाएको थियो ।

तर अमेरिकी वा ताइवानी कुनै पनि अधिकारीले विमान हस्तान्तरणको समय र सीको अमेरिका भ्रमणबीच सम्बन्ध रहेको बताएका छैनन् ।

सीको अमेरिका भ्रमणअघि ‘साउथ चाइना मर्निङ पोस्ट’ले प्रमुख नयाँ ताइवान हतियार बिक्री केही समय पर सार्नेबारे अमेरिकी प्रशासनले विचार गरिरहेको जनाएको थियो । स्रोतहरूले सीको भ्रमणको आसपास नयाँ हतियार सम्झौता स्वीकृत नगर्न बेइजिङले वासिङ्टनलाई निजी रूपमा दबाब दिएको बताएका थिए ।

१४ अर्ब डलरको हतियार प्याकेज यसै वर्षको सुरुदेखि रोकिएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हतियार बिक्रीसम्बन्धी निर्णय गर्दा अमेरिकाको आफ्नै सैन्य आवश्यकता, उत्पादन क्षमता र हतियारको भण्डार पुनःपूर्ति गर्नुपर्ने आवश्यकतालाई पनि ध्यान दिनुपर्ने बताएका थिए ।

गत साता ट्रम्पसँग भएको भेटमा सीले अमेरिकाले ‘ताइवान स्वतन्त्रता’को विरोध गर्नुपर्ने र ताइवानको विषयलाई सावधानीपूर्वक सम्हाल्नुपर्ने धारणा दोहोर्‍याएका थिए ।

शिखर बैठकपछि अमेरिकी विदेश मन्त्रालयले ताइवानसम्बन्धी अमेरिकाको व्यापक नीति भने परिवर्तन नभएको स्पष्ट पार्न खोजेको थियो ।

चीनको जनमुक्ति सेनाले ताइवान वरपर सैन्य गतिविधि बढाइरहेको र ताइवानका विद्यमान लडाकु विमानमाथि दबाब बढिरहेका बेला आफ्नो वायुसेना बलियो बनाउन ताइवानले एफ–१६भी कार्यक्रमलाई निकै महत्व दिएको छ ।

ताइवानले आफ्ना पुराना एफ–१६ए/बी विमानलाई यसअघि नै एफ–१६भी स्तरमा स्तरोन्नति गरिसकेको छ । त्यसमा एपीजी–८३ राडारलगायतका उपकरण जडान गरिएका छन् । त्यसैले नयाँ विमानले यी क्षमता ताइवानको वायुसेनामा पहिलोपटक ल्याउन लागेको भने होइन ।

तर नयाँ खरिदअन्तर्गत सन् १९९० को दशकमा बनेका विमानलाई मात्र स्तरोन्नति गर्ने विकल्पको सट्टा ६६ वटा नयाँ लडाकु विमान थपिनेछन् । नयाँ विमानमा लामो समयसम्म सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएका एयरफ्रेम र ‘कन्फर्मल फ्युल ट्यांक’ पनि छन् । यस्ता ट्यांकले पखेटामुनि हतियार राख्ने स्थान नघटाई इन्धन क्षमता बढाउँछन् ।