पत्रकारिता र ट्रेड युनियनको सशक्त आवाजः नेविसंघदेखि प्रेस युनियनको नेतृत्वसम्म लम्साल

पत्रकारिता र ट्रेड युनियनको सशक्त आवाजः नेविसंघदेखि प्रेस युनियनको नेतृत्वसम्म लम्साल

पत्रकारिता र ट्रेड युनियनको सशक्त आवाज


काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको हुन लागिरहेको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष लम्साल आसन्न १५औँ महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ बाट खुलातर्फ सर्वसम्मत (निर्विरोध) केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो। गृहनगरबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएसँगै उहाँले पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो सक्रियता बढाउँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
असोज १८ देखि २२ गतेसम्म काठमाडौँको खुलामञ्चमा हुन गइरहेको महाधिवेशनबारे बोल्दै लम्सालले भन्नुभयो, “लामो समयदेखि संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा म महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छु।”

नेविसंघदेखि प्रेस युनियनको नेतृत्वसम्मको यात्रा

लम्सालको राजनीतिक तथा सामाजिक यात्रा तीन दशकभन्दा लामो छ। वि.सं. २०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बारा क्षेत्र नम्बर १ को अध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसक्रममा उहाँले बारा, स्याङ्जा र मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ इकाइहरूमा रहेर विद्यार्थी आन्दोलन र संगठन विस्तारमा अग्रणी भूमिका निर्वाह गर्नुभयो।

विद्यार्थी राजनीतिसँगै ट्रेड युनियन र पत्रकारिता क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएका लम्सालले नेपाल प्रेस युनियनको काठमाडौँ शाखा सभापति, केन्द्रीय सचिव, केन्द्रीय महासचिव तथा सल्लाहकारजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ। ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्यका रूपमा समेत काम गरिसक्नुभएका उहाँ हाल नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ।

गृहजिल्लाबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएसँगै लम्सालको १५औँ महाधिवेशनमा सहभागिता सुनिश्चित भएको छ। लामो सांगठनिक अनुभव र वैचारिक स्पष्टताका कारण केन्द्रीय सदस्यमा उहाँको उम्मेदवारीलाई कांग्रेस, शुभेच्छुक संस्था र मिडिया वृत्तमा चासोका साथ हेरिएको छ।