काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सभापति क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव राखेका छन्। जारी महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेश गर्दै ९ लाख सदस्यबाट सीधै सभापति चुन्ने व्यवस्था गर्न प्रस्ताव राखे।
नेपाली कांग्रेस कुनै नेता, पदाधिकारी वा समूहको निजी स्रोतसाधन नभएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको सबैभन्दा बलियो आधार अधिकार र जिम्मेवारी बोकेका सदस्य हुन्। सदस्यको सक्रिय सहभागिताबाट चलने संगठनले मात्र नागरिकप्रति उत्तरदायी राजनीतिक नेतृत्व निर्माण गर्न सक्छ। सदस्यले छलफल गर्नु, असहमति राख्नु, चुन्न र चुनिन पाउनुपर्छ। त्यसैले नीति र विचार निर्माण, उम्मेदवार छनोट तथा नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता विस्तार गर्ने दिशामा हामी अग्रसर हुने छौँ।’
निर्णयमा पार्टी सदस्यको भूमिका कमजोर राखेर परिचालनमा मात्र सक्रिय बनाउन खोज्ने अभ्यास बदल्नुपर्ने बताए। समर्थक, शुभेच्छुक र सम्बन्धित समुदायको अनुभवलाई पनि पार्टीको नीति तथा सार्वजनिक कार्यसूचीमा अर्थपूर्ण स्थान दिइने उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘सदस्यता वितरण र नवीकरण नियमित, सहज र पारदर्शी हुनेछन्।सदस्यतालाई परिचयपत्रसँगै योगदानको जिम्मेवारीमा जोडिनेछ। सबैको योगदान एउटै ढाँचामा अट्दैन। शिक्षकले सिकाइमा, स्वास्थ्यकर्मीले सेवामा, श्रमिकले अधिकारमा र युवाले उद्यम तथा सामाजिक पहलमा योगदान गर्न सक्छन्। पद नभएको कारण कसैले निष्क्रिय बस्नुपर्ने छैन।’
हरेक पदको लिखित कार्यविवरण, नियमित आत्ममूल्याङ्कन र समीक्षा हुने उल्लेख छ।

प्रतिक्रिया