काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता भएकाहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ताका लागि कानुन संशोधनको तयारी भइरहेको बताएकी छन् ।
मंगलबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मृत्यु घोषणा र दर्ताका लागि प्रचलित कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताएकी हुन् ।
उनले देवानी संहिता, पञ्जीकरण ऐनलगायतका कानुनमा मृत्यु घोषणासम्बन्धी व्यवस्था रहेकाले त्यसलाई संशोधन गरेर विपद्का कारण बेपत्ता भएकाको मृत्यु घोषणा तथा दर्ताको प्रक्रिया सहज बनाउने तयारी भइरहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘अब कानुनमै, मूल कानुनमै, ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ । संसद् अधिवेशन अन्त्य भएको छ । अब यो अध्यादेशमार्फत छिट्टै नै सरकारले चाहिँ देवानी संहिता, पञ्जीकरण ऐन अथवा विपत् केमा हुन्छ, यो उपयुक्तता कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानुन निर्माणहरू गर्दैछौँ ।’
उनका अनुसार कानुन मन्त्रालयका कर्मचारीले यस विषयमा गहन छलफल गरी समाधानको तयारी गरिसकेका छन् ।
‘तयारीहरू भइसक्या छ, हाम्रो कर्मचारी सर, म्याडमहरूले एकदम यसमा घनीभूत छलफल गरेर उपयुक्त समाधान निकालिसक्नुभएको छ,’ उनले भनिन् ।
मन्त्री गौतमले पछिल्लो १०–१२ वर्षदेखि नेपालले निरन्तर विपद्को चेतावनी सामना गर्दै आए पनि त्यसलाई पर्याप्त रूपमा गम्भीरतापूर्वक नलिइएको बताइन् । सिन्धुपाल्चोकको जुरे, मेलम्ची, थामे तथा रोशी खोलालगायतका क्षेत्रमा भएका विपद्को उदाहरण दिँदै उनले भोटेकोशी र रसुवामा आएको बाढीले सबैलाई थप सचेत बनाएको बताइन् ।
उनले भनिन्, ‘हामीले कानुनहरू निर्माण गर्दा विपत्लाई केन्द्रमै राखेर गर्नुपर्छ । कानुन मात्रै होइन, हाम्रा जे कामकारबाही गर्दाखेरि पनि अब विपत्लाई केन्द्रमा राखेर गर्नुपर्ने अवस्था भएको छ ।’
मन्त्री गौतमले विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगीलाई सहजीकरण तथा विपद्मा परिवार गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा पनि सम्बन्धित मन्त्रालयसँग समन्वय आवश्यक रहेको बताइन् ।
उनले संसदीय विशेष समिति सर्वदलीय भएकाले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर विपद्लाई केन्द्रमा राखी आवश्यक समाधानका बाटा पहिचान गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया