काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।
मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो । तर, साढे २ बजे पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले आजका लागि मतदानको नयाँ समय तोकेन ।
निर्वाचन सामग्री तयार भएर नआएपछि मतदान प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन समितिको भनाइ छ । यससँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलिका लागि सरेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
यसअघि निर्वाचन समितिले बिहान १० बजे मतदान सुरु गर्ने समय तोकेको थियो । तर निर्वाचन सामग्री छपाइमा भएको ढिलाइका कारण पटक–पटक मतदानको समय सारिएको थियो ।

प्रतिक्रिया