काठमाडौं । इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा विमान ध्वस्त वा क्षतिग्रस्त भएको कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को यसै साता सार्वजनिक प्रतिवेदनले जनाएको छ ।
यो संख्यामा विमान, हेलिकप्टर र ड्रोन सबै समावेश छन् । तीमध्ये एमक्यू–९ रिपर ड्रोनको संख्या आधाभन्दा बढी छ । यो ड्रोन गुप्तचर संकलन, निगरानी तथा जासुसी, नजिकबाट हवाई सहयोग र युद्धमा खोज तथा उद्धारका लागि प्रयोग हुन्छ ।
क्षतिग्रस्त वा ध्वस्त भएका उपकरणमा पेन्टागनका महत्वपूर्ण सैन्य साधन पनि छन् । जसमा एफ–३५ए लडाकु विमान र ई–३ सेन्ट्रीसमेत छन् । ई–३ सेन्ट्री चार इन्जिन भएको विमान हो, जसको माथिल्लो भागमा ठूलो राडार जडान गरिएको हुन्छ । यसलाई लक्ष्य पहिचान तथा हवाई क्षेत्र व्यवस्थापनका लागि प्रयोग गरिन्छ ।
प्रतिवेदनका अनुसार ध्वस्त वा क्षतिग्रस्त विमानको कुल लागत १.९ अर्बदेखि ३.३ अर्ब डलरसम्म हुन सक्छ । प्रतिस्थापनका लागि रक्षा मन्त्रालयले बनाउने योजनाअनुसार लागत फरक पर्नेछ । प्रतिवेदनले कंग्रेसनल बजेट अफिसबाट प्राप्त तथ्यांकलाई उद्धृत गरेको छ ।
तर युद्धको कुल लागत भने योभन्दा धेरै छ । सीएनएनलाई स्रोतहरूले दिएको जानकारीअनुसार युद्धमा कम्तीमा ४५ अर्ब डलर खर्च भइसकेको छ । यसमा क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा भएको पूर्वाधारको क्षति भने समावेश छैन । केही विमान क्षतिग्रस्त भएका आधारहरूमा पनि यस्तो क्षति भएको छ ।
प्रतिवेदनमा समावेश केही विमान पुनः सञ्चालनमा आइसकेको हुनसक्ने उल्लेख छ । यसमा सेप्टेम्बरमा जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसमा इरानी आक्रमणका क्रममा सामान्य क्षति पुगेका आठवटा एफ–१५ स्ट्राइक ईगल लडाकु विमान पनि छन् ।
यो प्रतिवेदन रक्षा मन्त्रालय, त्यसको महानिरीक्षक, इरानविरुद्धको सैन्य कारबाही सञ्चालन गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डका वक्तव्य तथा सीआरएसले समीक्षा गरेका समाचारमा उल्लेखित तथ्यांकका आधारमा तयार गरिएको हो ।
प्रतिवेदनले अमेरिकी सेनाले भोगेको क्षतिबारे कंग्रेसका लागि विभिन्न प्रश्न पनि उठाएको छ । त्यसमध्ये पेन्टागनले भएको क्षतिबारे कंग्रेसलाई पर्याप्त जानकारी दिइरहेको छ कि छैन र त्यसबाट परेको प्रभाव तथा त्यसको समाधानबारे निर्णय गर्न सांसदहरूलाई पर्याप्त सूचना प्राप्त भइरहेको छ कि छैन भन्ने प्रश्न छन् ।
इरानसँगको युद्धमा भएको अमेरिकी क्षतिबारे रक्षा मन्त्रालयले अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक गरेको छैन । सेप्टेम्बरमा सार्वजनिक भएको पेन्टागनका महानिरीक्षकको प्रतिवेदनले पनि फेब्रुअरी २८ देखि जुन ३० सम्मको कारबाहीमा भएको विमान क्षतिबारे केही तथ्यांकका लागि यसअघिका सीआरएस प्रतिवेदनलाई उद्धृत गरेको थियो ।
कंग्रेसले विमान मर्मत वा प्रतिस्थापनका लागि थप बजेट उपलब्ध गराउनुपर्ने हो कि होइन भन्ने विषयमा पनि विचार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आवश्यकताअनुसार विमान उत्पादन तथा मर्मत गर्न अमेरिकी औद्योगिक क्षमता पर्याप्त छ कि छैन र विदेशी साझेदारलाई गरिने अमेरिकी सैन्य सामग्री बिक्रीमा यसको असर पर्न सक्छ कि सक्दैन भन्ने विषय पनि उठाइएको छ ।
इरानसँगको युद्धले मध्यपूर्वबाहिर अमेरिकी सेनाको सैन्य उपस्थितिमा कस्तो प्रभाव पारेको छ भन्ने प्रश्न पनि प्रतिवेदनले उठाएको छ ।
प्रतिवेदनमा भनिएको छ, “ई–३ सेन्ट्रीजस्ता सीमित संख्यामा रहेका र पुराना तर उच्च माग भएका सैन्य प्लेटफर्ममा भएको क्षतिले अन्य क्षेत्रमा क्षमताको कमी वा जोखिम बढाउँछ कि बढाउँदैन भन्ने विषयमा कंग्रेसले मूल्यांकन गर्न सक्छ ।”
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा भएका सैन्य कारबाही, विशेषगरी इरानसँगको युद्ध तथा यसअघि इरानको सहयोगी समूह हुथी विद्रोहीविरुद्ध यमनमा भएका भिडन्तले एमक्यू–९ रिपर ड्रोनमा ठूलो क्षति पुर्याएको छ ।
अमेरिकी वायुसेनाका प्रमुख जनरल केनेथ विल्सबाकले यसै वर्षको सुरुआतमा कंग्रेसलाई इरानविरुद्धको युद्धमा एमक्यू–९ रिपरलाई सेनाको “सबैभन्दा महत्वपूर्ण सैन्य साधन” बताएका थिए ।
एटलान्टिक काउन्सिलको सेप्टेम्बरमा प्रकाशित प्रतिवेदनअनुसार यस वर्ष मात्रै मध्यपूर्वमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाइसकिएको छ, जुन “चिन्ताजनक दर” हो ।
सन् २००४ यता अमेरिकी वायुसेनाले आफ्ना करिब ३५ प्रतिशत एमक्यू–९ रिपर ड्रोन गुमाइसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया