काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि असोज २५ गतेदेखि ६ स्थानबाट ग्यास बिक्री गरिने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्न लागेको हो ।
संघका अध्यक्ष दिवान चन्दले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्रीको व्यवस्था मिलाइएको जानकारी दिए ।
संघका अनुसार काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास बिक्री गरिनेछ । पेप्सीकोलाबाट सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिनेछ ।
त्यस्तै, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ ।
यी सबै स्थानमा बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री हुनेछ । बिक्री केन्द्रमा खाली सिलिन्डर साटफेर गर्ने व्यवस्था पनि मिलाइएको अध्यक्ष चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया