कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, महामन्त्रीमा पौडेलको अग्रता

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, महामन्त्रीमा पौडेलको अग्रता


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् ।

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा उपसभापति खुलातर्फ भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् । इन्जिनियर मधु आचार्य ७१२ मतसहित दोस्रो स्थानमा छन् । सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६ र दीपक गिरीले ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत पाएका छन् ।

उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उदयशमशेर राणाले ७८६ मतसहित दोस्रो स्थानमा छन् । अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८ र नैनसिंह महरले २७० मत प्राप्त गरेका छन् । त्यस्तै, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत पाएका छन् ।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला पन्तले ९६५ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय ‘डिना’ ले ९५२ मत पाएकी छन् । संग्रौला र डिनाबीचको मतान्तर १३ मात्रै छ । रिता खनालले २५१ मत प्राप्त गरेकी छन् ।

कांग्रेसको निर्वाचनमा खुलातर्फ दुई-दुई जना उपसभापति र महामन्त्री निर्वाचित हुनेछन् । समावेशी उपसभापति र महिला महामन्त्रीतर्फ एक-एक जना निर्वाचित हुनेछन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।