उपसभापति भएपछि चन्द्र भण्डारीको बाचा : विश्वासको शिर कहिल्यै झुक्ने छैन

उपसभापति भएपछि चन्द्र भण्डारीको बाचा : विश्वासको शिर कहिल्यै झुक्ने छैन


काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ सर्वाधिक मतसहित उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारीले महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै विश्वासको शिर कहिल्यै नझुकाउने प्रतिबद्धता जनाएका छन्।
उपसभापतिमा विजयी भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले भनेका छन्, “नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी भई मप्रति व्यक्त गर्नुभएको विश्वास र अमूल्य मतका लागि महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।”
उनले थपेका छन्, “म प्रतिबद्ध छु—तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु। जय नेपाल!”
अन्तिम मतपरिणामअनुसार खुला उपसभापति पदका लागि भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरेका छन्। उनीसँगै खुलातर्फ ई. मधु आचार्य र समावेशीतर्फ विनोदकुमार चौधरी पनि उपसभापतिमा निर्वाचित भएका छन्।
भण्डारी नेपाली कांग्रेसका पुराना नेता हुन्। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०६७ सालदेखि निरन्तर केन्द्रीय सदस्य छन्। यसअघि उनी गुल्मीबाट प्रतिनिधि सभा सदस्यसमेत निर्वाचित भइसकेका छन्।
उनको यो प्रतिबद्धता पार्टीभित्र ‘म’ भन्दा ‘हामी’ र ‘हाम्रो’ को भावनालाई प्राथमिकता दिने अभियानसँग जोडिएको देखिन्छ।