नेपालबाट बाहिरियो मनसुन

नेपालबाट बाहिरियो मनसुन


काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

यसअघि असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले मौसममा परिवर्तन आउन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले पछिल्लो मौसमी सूचनाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।