चितवन। भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए । उहाँले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँका अनुसार मन्त्री र अन्यबाट गुनासो आएपछि मन्त्री गौतमसहित आफूहरुले विमानस्थल परिसरको अनुगमन गरेको उहाँले बताउनुभयो ।
गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन ग¥यौँ । सुधार्ने प्रतिबद्धता गराइएको छ ।” समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरुले पाएको उहाँले बताउनुभयो ।
यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उहाँ चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरु गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झण्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो ।
कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताउनुभयो । अनुगमनपछि काम भइरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पु¥याउन नसकिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया