प्रधानमन्त्री कार्यालयको निर्देशनमा ९ दिनमै हटाइयो क्यान सदस्य गुञ्जन शाहलाई

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ९ दिनमै हटाइयो क्यान सदस्य गुञ्जन शाहलाई


काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै गुञ्जन शाह ठकुरी पदमुक्त भएकी छन्।

क्रिकेट क्षेत्रमा कुनै विज्ञता र अनुभव नभएको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई फिर्ता बोलाएको हो।

गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा मनोनीत शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिन्छिन्। सामाजिक सञ्जालमा प्राङ्क भिडियो र भ्लग बनाउँदै आएकी शाह जेन-जी आन्दोलनपछि राजनीतिमा सक्रिय भएकी थिइन्।

पूर्व बोर्ड सदस्य छुम्बी लामालाई हटाएर शाहलाई क्यानमा भित्र्याइएको थियो। तर, क्रिकेटको नीतिगत र व्यवस्थापकीय अनुभव शून्य रहेको व्यक्तिलाई क्यानको शक्तिशाली बोर्डमा पठाइएको भन्दै खेलकुद वृत्त र सर्वसाधारणबाट तीव्र आलोचना भएको थियो। सामाजिक सञ्जालमा विरोध चर्किएपछि सरकारले आफ्नै निर्णय उल्ट्याउँदै ९ दिनमै उनको मनोनयन खारेज गरेको छ।