पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन


भोजपुर। भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको हो । दसैँ, तिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो ।

बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाटखण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।

अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो । सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उहाँको भनाइ छ ।

आवागमन सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ । सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ ।

विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ । फेरी सञ्चालनले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दालाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज बनाउँदै आएको छ । यद्यपि, बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्नुपर्ने भएकाले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै छ ।