काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको हो ।
नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले १२० बलमा १३९ रनको शतकीय साझेदारी गरे । पौडेलले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाउँदा ऐरीले ३ चौका र ४ छक्कासहित ६९ रन जोडे ।
ओपनर देव खनालले ५७ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर आशिफ शेख भने ७ रन बनाए । इशान पाण्डेले २९ रन बनाए ।
काफ इन्ज्यूरीका कारण अर्जुन कुमाललाई टिम बाहिर भएको र उनको स्थानमा देव खनाललाई टिममा राखिएको हो ।
यसअघि, २ मा जित र १ मा पराजित भएको नेपाललाई छैटौं स्थानमा रहँदै ओडिआई जोगाउन यो खेल जित्नै पर्ने हुन्छ ।
नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।
तालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अंक बाँड्दै २७ अंक हासिल गरेको छ।
यस शृंखलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो।

प्रतिक्रिया