सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (मंगलबार) फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन् ।
प्रहरीका अनुसार जीवनकला बयकको टाउको र हातमा चोट लागेको छ । हेमन्त तिमल्सिनाको पनि टाउको र हातमा चोट लागेको छ भने गोपाल बोगटीको टाउको र हातमा चोट लागेको छ । उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते तिमल्सिनालाई थप उपचारका लागि आज बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ ।
दुर्घटनामा अन्य छ जना पनि घाइते भएका छन् । घाइते हुनेमा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा, सोही ठाउँकी २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, अछामको विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी रहेका छन् ।
प्रहरीले दिएको विवरणअनुसार समिर बादीको टाउको र हातमा चोट लागेको छ । बिर्ख टमटाको हातमा, शारदा टमटाको टाउकोमा, निरज भण्डारीको हातमा, धिराज विकको हातमा र शान्ति भण्डारीको टाउकोमा चोट लागेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन् । उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए । गाडी अनियन्त्रित भई सडकमा पल्टिएपछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया