भोजपुर ।
नेपाल सरकारले घोषणा गरेको सय वटा पर्यटकीय गन्तव्यको सूचीमा परेको प्रसिद्ध मुन्दुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। खोटाङ र भोजपुरको सीमा क्षेत्रमा फैलिएको यो पदमार्गमा देखिने मनोरम प्राकृतिक दृश्य, किराँती संस्कृति र खुला पाखामा चर्दै गरेका घोडा तथा चौंरीका बथानले पर्यटकहरूलाई थप आकर्षित गर्ने गरेका छन्।
पदमार्ग क्षेत्रका अग्ला डाँडा, खर्क र खुला हरियाली चउरमा स्वच्छन्द रूपमा चरिरहेका घोडाहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई अझ जीवन्त र मनमोहक बनाएका छन्। पदयात्रामा निस्कने पर्यटकहरूका लागि यी दृश्यहरू उत्कृष्ट फोटो तथा भिडियो खिच्ने माध्यमसमेत बन्ने गरेका छन्।
किराँती संस्कृति, रहनसहन र पूर्वी नेपालको अद्वितीय प्राकृतिक भूगोललाई नजिकबाट नियाल्न सकिने यो पदमार्गलाई व्यवस्थित र प्रवर्द्धन गर्न स्थानीय तह तथा पर्यटन प्रवर्द्धन समितिहरूले पूर्वाधार विकासका कामहरूलाई अघि बढाइरहेका छन्।

प्रतिक्रिया