हेटौंडा । हेटौंडामा प्रहरीले कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो सवा ३ बजे भारतको रक्सोलबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कारलाई रोकेर जाँच गरेको थियो। सो क्रममा कारका चारवटै ढोकाको भित्री भागमा विशेष किसिमको ुफल्स बटमु बनाएर लुकाइएको अवस्थामा उक्त धातु फेला परेको हो।
घटनाको सम्बन्धमा प्रहरीले कारमा सवार एकै परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी कार चालक अन्दाजी ५० वर्षीय रमेश कुमार साह सोनार, उनकी श्रीमती अन्दाजी ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी अन्दाजी २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्। बरामद गरिएको चाँदीजस्तो देखिने धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ। बरामद गरिएको धातु र सवारी साधनसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया