प्रेम सम्बन्ध र हिसाबकिताबको पाटो जोडिएपछि युवती नियन्त्रणमा

प्रेम सम्बन्ध र हिसाबकिताबको पाटो जोडिएपछि युवती नियन्त्रणमा

पिजफायर रेस्टुरेन्टमा काम गर्ने युवतीविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान


विराटनगर ।
विराटनगरका एक रेस्टुरेन्ट सञ्चालकको शव जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय युवा व्यवसायी मनोज खत्री शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक खत्री गत शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएपछि परिवारसँग सम्पर्कविहीन भएका थिए।

खत्रीको मृत्यु प्रकरणमा प्रहरीले उनीसँग व्यक्तिगत सम्बन्धमा रहेकी झापाकी २७ वर्षीया युवतीलाई शनिबार राति नै नियन्त्रणमा लिएको छ। ती युवतीले विगत ४–५ वर्षदेखि खत्रीको रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् भने रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत हेर्ने गरेकी थिइन्।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खत्री र युवतीबीच प्रेम सम्बन्धका साथै पछिल्लो समय सम्बन्धमा खटपट देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले रेस्टुरेन्टको आर्थिक कारोबार र उनीहरूबीचको व्यक्तिगत सम्बन्धलाई मुख्य आधार बनाएर अनुसन्धान अघि बढाएको छ। यद्यपि, खत्रीको मृत्युमा युवतीको प्रत्यक्ष संलग्नता वा भूमिका भएरनभएको विषय भने अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।

मृतक खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला भारतमा रहेकी उनकी श्रीमती फर्किएपछि परिवारको उपस्थितिमा शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइनेछ। हाल खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट र प्राप्त अन्य प्रमाणका आधारमा मृत्युको वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ।