काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैली र वैचारिक स्पष्टतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। राजनीतिक विश्लेषकहरूले रास्वपाले नयाँ सोच र परिणाम दिनुभन्दा जनमतको अहंकार र लोकप्रियतावाद (पपुलिजम) मा मात्र समय खर्चिरहेको टिप्पणी गरेका छन्।
विश्लेषकहरूका अनुसार रास्वपाले दीर्घकालीन नीति तथा संस्थागत विकासभन्दा पनि सामाजिक सञ्जालमा भाइरल हुने स्टन्ट र ताली बजाइने निर्णयहरूलाई प्राथमिकता दिएको छ। पुराना दलहरूलाई तीखो आलोचना गर्ने तर आफ्ना शीर्ष नेतृत्वमाथि कानुनी र नैतिक प्रश्न उठ्दा संस्थागत प्रणालीको सम्मान गर्नुको सट्टा सडक तताउने प्रवृत्तिले पार्टीको दोहोरो चरित्र उदाङ्गो पारेको छ।
त्यस्तै, स्पष्ट वैचारिक धरातलको अभाव र सभापति रवि लामिछानेको वरिपरि मात्रै पार्टी केन्द्रित हुँदा व्यक्तिपूजन मौलाएको छ। जनताले दिएको ठूलो जनमतलाई संस्थागत गर्न नसके र अहंकार त्याग-नगरे रास्वपाले बोकेको परिवर्तनको आशा निराशामा बदलिने खतरा रहेको विश्लेषकहरूको चेतावनी छ।

प्रतिक्रिया