काठमाडौं । रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेश्कीमा युद्धविराम सुरु भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले युद्धविरामको घोषणा गरेको एक सातापछि यो लागू भएको हो ।
युद्धविरामको उद्देश्य मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज बनाउनु हो ।
रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार मानवीय सहायता अभियानको तयारीस्वरूप मस्को समयअनुसार बिहान ४ बजे (ग्रिनविच समयअनुसार राति १ बजे) देखि ओलेश्कीबाट नदीपारि रहेको युक्रेनी सहर खेर्सनतर्फ गोली प्रहार गर्न बन्द गरिएको छ ।
ओलेश्की ड्निप्रो नदीको दक्षिणी किनारमा अवस्थित छ । यही नदी खेर्सन क्षेत्रमा युद्धरत पक्षबीचको अग्रपङ्क्तिका रूपमा रहेको छ । सहरमा बाँकी रहेका बासिन्दाले खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव झेलिरहेका छन् ।
युक्रेनी संसद्का मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्सले सामाजिक सञ्जालमार्फत युद्धविराम सुरु भएको पुष्टि गरेका छन् ।
‘युक्रेनी वार्ता टोलीको प्रमुखका रूपमा म पुष्टि गर्छु कि युक्रेनी पक्षले आफ्ना प्रतिबद्धता पूरा गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको पहिलो केही दिनमै ओलेश्की सहर कब्जा गरेको थियो ।
ड्निप्रो नदीपारि रहेका युक्रेनी सैन्य स्थान र पूर्वतर्फ तैनाथ रुसी सेनाको बीचमा स्थानीय बासिन्दा खाद्यान्नको अभावमा फसेका थिए ।
युद्धअघि यस सहरमा २४ हजार मानिस बसोबास गर्थे । अहिले सहर र आसपासका क्षेत्रमा करिब ६ हजार मानिस बाँकी रहेको युक्रेनको अनुमान छ । तीमध्ये २०० जना बालबालिका छन् ।
गत साता ह्वाइट हाउसले ओलेश्कीमा युद्धविराम गराउन मेलानिया ट्रम्प सफल भएको जनाएको थियो ।
‘दुवै देशका गैरसैनिक नेतृत्वका प्रतिनिधिहरूले ओलेश्कीका बासिन्दाको घरमै पुगेर उनीहरूको अवस्था बुझ्ने र आवश्यक सहायताको स्तर निर्धारण गर्न संयुक्त रूपमा काम गर्नेछन्,’ उनले एक प्रेस विज्ञप्तिमा भनेकी थिइन् ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्ना केही पूर्ववर्तीको तुलनामा सार्वजनिक रूपमा कम देखिने गरेकी छन् । ह्वाइट हाउसका कार्यक्रममा पनि उनी कहिलेकाहीँ मात्र सहभागी हुने गर्छिन् । यद्यपि, रुस–युक्रेन युद्धका कारण उत्पन्न मानवीय समस्याको सम्बोधनमा उनी संलग्न हुँदै आएकी छन् ।
सन् २०२५ अगस्टमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेख्दै विश्वभरका बालबालिका र भावी पुस्ताको संरक्षण गर्ने समय आएको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया