कञ्चनपुरमा प्लास्टिक मालामा कडाइपछि स्थानीय किसान उत्साहित

कञ्चनपुरमा प्लास्टिक मालामा कडाइपछि स्थानीय किसान उत्साहित


कञ्चनपुर ।  तिहार नजिकिँदै गर्दा कञ्चनपुरमा उत्पादित सयपत्री फूलको अग्रिम माग ९बुकिङ० आउन थालेपछि यहाँका व्यावसायिक पुष्प व्यवसायीहरूमा नयाँ उत्साह देखिएको छ।

विगतका वर्षहरूमा बजारको अभावले गर्दा उत्पादन गरिएको फूल बारीमै कुहिने र काठमाडौँलगायतका बजार पठाउँदा बाटोमै बिग्रिएर घाटा व्यहोर्दै आएका किसानहरूले यस वर्ष राहत महसुस गरेका छन्। स्थानीय प्रशासनले प्लास्टिकका माला तथा भारतबाट आयात हुने फूलको बिक्री–वितरणमा कडाइ गरेपछि स्थानीय उत्पादनले उचित बजार र मूल्य पाउन थालेको हो।

भीमदत्त नगरपालिका–१ का पुष्प व्यवसायी सिर्जना जोशीले यस वर्ष तिहारअघि नै अग्रिम बुकिङ आउन थालेको बताउनुभयो। सात वर्षअघि ३०० बोटबाट फूलखेती सुरु गर्नुभएकी जोशीले हाल वार्षिक ३० हजार रुपैयाँ भाडा तिरेर १५ कट्ठा जमिनमा व्यावसायिक खेती विस्तार गर्नुभएको छ।

ूदुई वर्षअघिसम्म फूल उत्पादन भए पनि बजार नपाउँदा बारीमै कुहिने समस्या थियो, दुई क्विन्टलसम्म फूल खेर गएको अनुभव छ,ू जोशीले भन्नुभयो, ूतर स्थानीय प्रशासनले आयातित र प्लास्टिकका मालामा रोक लगाएपछि गत वर्ष सबै खर्च कटाएर डेढ लाख रुपैयाँ आम्दानी भयो। यस वर्ष तिहारमा प्रतिकिलो रु ५०० का दरले चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्यसहित काम गरिरहेकी छु।ू

फूलखेतीबाट राम्रो प्रतिफल आउने सम्भावना देखेपछि कञ्चनपुरमा नयाँ कृषकहरूको समेत आकर्षण बढ्दो छ। भीमदत्त नगरपालिका–१५ का मेघा रावलले आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूल लगाएर व्यवसाय थाल्नुभएको छ। करिब २५ हजार रुपैयाँको लगानीबाट तिहारको अवधिमै करिब एक लाख रुपैयाँ आम्दानी हुने उहाँको अपेक्षा छ।

परम्परागत खेतीको तुलनामा फूलखेतीबाट तीन गुणासम्म बढी आम्दानी लिन सकिने किसानहरूको अनुभव छ। तिहारका साथै विवाह, पूजाआजा तथा विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत स्थानीयस्तरमै उत्पादित सयपत्री फूलको प्रयोग बढ्न थालेपछि यस क्षेत्रमा पुष्प व्यवसाय दिगो आयआर्जनको भरपर्दो माध्यम बन्दै गएको छ।