काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.३ ओभरमा अलआउट भएर ११५ रनमा समेटियो ।
काठमान्डुको ब्याटिङ ध्वस्त पार्ने क्रममा राहुल यादवले चार विकेट लिए भने सैफ हसनले दुई विकेट हात पारे । हर्मित सिंह, मोइन अली र ललित राजवंशीले समान एक विकेट लिए ।
राहुलले ४ ओभरमा ३१ रन खर्चेर चार विकेट लिएका हुन् । सैफले चार ओभरमा ११ रन मात्र खर्चेर दुई विकेट लिए । मोइनले चार ओभरमा २३ रन दिँदै एक विकेट लिए भने ललितले चार ओभरमा ३० रन खर्चेर एक विकेट हात पारे ।
ब्याटिङतर्फ काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । राशिद खानले १४ बलमा दुई चौकासहित १७ रन जोडे भने स्मित पटेलले १३ रन बनाए ।
सुमित महर्जनले १० र हरिशंकर शाहले नौ रन बनाए । कप्तान करण केसीले १८ बलमा आठ रन मात्रै बनाउन सके । जहान्दाद खानले पाँच रन बनाए भने साम हेजलेटले एक रन जोडे । मोहम्मद आदिल आलम खाता नखोली आउट भए ।
काठमाडौंले अतिरिक्त ६ रन पाएको थियो ।

प्रतिक्रिया