इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति


काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसमा उल्लेखित व्यक्ति र घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै शर्माले आफूलाई जोडेर प्रकाशित समाचारलाई आधारहीन, झूटो र कपोलकल्पित भन्दै भर्त्सना गरेका हुन् ।

‘दियो पोस्ट’ले प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पोखरेलको नाममा अमेरिकामा घुससम्बन्धी कारोबार भएको दाबीसहित समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलमा भेटिएको भनिएको कारोबार विवरण उल्लेख छ ।

शर्माले विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका व्यक्तिसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको बताएका छन् ।

समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाका बेला आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उनको भनाइ छ ।

आफूलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले आधारहीन सामग्री प्रकाशित गरिएको भन्दै शर्माले त्यस्ता समाचारको भर्त्सना गरेका छन् ।