घोराही। तिहार नजिकिएसँगै दाङमा सयपत्रि फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन् ।
घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका ४२ वर्षीय लोकेन्द्र रोकामगरले खेतमा सयपत्री फूल बिक्रीका लागि तयार भएका बताउनुभयो । उहाँले १३ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । यस वर्ष पनि दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको उहाँले बताउनुभयो । घोराही-५ धर्नामा एक बिघा, घोराही-१६ तेरौँटेमा दुई कट्ठा र घर नजिक झिङ्गौरामा १८ कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्रि फूलखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेका हुन्छन् । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँले यसबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । “आम्दानी पनि जीविकोपार्जनका लागि पुग्ने छ । फूलखेती गर्नुभन्दा अघि वैदेशिक रोजगारमा थिएँ । विदेशमा जानुभन्दा स्वदेशमै केही गर्नु प्रभावकारी विकल्प हो,” उहाँले भन्नुभयो ।
लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती गर्न थालेको मगरले बताउनुभयो । “बाहिरी देशमा कमाएको भन्दा स्वदेशमा फूलखेतीबाटै प्रशस्त आम्दानी भइरहेको छ । अब विदेश नजाने, बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ,” उहाँले भन्नुभयो । फूलखेतीबाट वार्षिक रु २० देखि रु २५ लाखको कारोबार हुने जनाउँदै कारोबारको करिब आधा रकम बचत हुने गरेको उहाँले बताउनुभयो ।
रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व तथा अन्य शुभकार्यका लागि माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो । तिहारका लागि फूल तयार भइसकेको र पानी परेपछि बिग्रने डरले केही फूल टिपेर चिस्यान केन्द्र ‘कोल्डस्टोर’ मा राख्ने गरिएको उहाँले बताउनुभयो । जलजला पुष्पखेती तथा नर्सरी फार्म दर्ता गरेर व्यावसायिक फूलखेती गर्दै आउनुभएका रोकामगरले फूलखेतीसँगै विभिन्न जातका फूलका बोटबिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
कैलालीका दशरथ साउद र कपिलवस्तुका भास्कर पङ्गेनीले पनि दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा व्यावसायिक रूपमा गर्नुभएको खेतीमा ढकमक्क पनि फूल फुलेका छन् । उहाँहरूले यस वर्ष एक बिघा जग्गामा व्यावसायिक रूपमा फूलखेती गर्नुभएको छ ।
रोल्पाको माडी गाउँपालिका-१ जबाङ दुदिलाबोट स्थायी घर भएका २८ वर्षीय वीरेन्द्र खड्काले घोराही-७ घुस्रामा १० कट्ठा जग्गामा व्यावसायिक रूपमा फूलखेती गर्नुभएको छ । उहाँले तिहारलाई लक्षित गरी फूलखेती गर्नुभएको हो । उहाँले छ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । उहाँले कृषि विज्ञानमा प्रमाणपत्र तह (आइएस्सिएजी) अध्ययन गर्नुभएको छ ।
घोराही-१३ डुम्मर गाउँका इन्द्रा बुढाले करिब सात कट्ठा जग्गामा व्यावसायिक फूलखेती गर्नुभएको छ । विगत नौ वर्षदेखि उहाँले व्यावसायिक रूपमा फूलखेती गदै आउनुभएको हो । “अहिले तिहारका लागि फूल तयार भइसकेका छन् । माग आउन थालेसँगै बनाउन सुरु गछौँ,” उहाँले भन्नुभयो । माला बनाएर कोल्डस्टोरमा राख्ने उहाँले बताउनुभयो ।
जिल्लामा व्यावसायिक रूपमा फूलखेती थालिएपछि बाहिरबाट आउने कृत्रिम मालालाई पनि विस्थापित गर्न थालेको जानकारहरू बताउँछन् । उहाँले फूलखेतीबाट वार्षिक रूपमा रु पाँच देखि रु सात लाखसम्म बचत गरिरहेको जानकारी दिनुभयो । दाङका अन्य पालिकामा पनि यति बेला तिहारका लागि फूल तयार भइसकेका छन् ।

प्रतिक्रिया