चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ


नारायणगढ। चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने ३८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन् ।

उनीहरूका साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, रु ३९ हजार ५०० नगद र एक थान ‘डिजिटल’ तराजुलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिनुभयो । निजहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।