नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भारतबाट प्राप्त शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार भट्टराईले बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटना, भारतबाट प्राप्त प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र २०५५ वैशाख ८ गते राष्ट्रिय अनुसन्धान विभागमा पेस गरेका थिए ।

सोही प्रमाणपत्रका आधारमा उनले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृतमा बढुवा हुँदा शैक्षिक योग्यताबापतको अंक प्राप्त गरेको अख्तियारले जनाएको छ ।

उक्त प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त प्रमाणीकरण विवरणमा प्रमाणपत्रमा उल्लेखित उम्मेदवारको नाम र कुल प्राप्ताङ्क अभिलेखसँग नमिलेको पाइएको अख्तियारको भनाइ छ ।

नक्कली तथा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको र सोही आधारमा पद, ओहदा तथा सेवा सुविधासमेत प्राप्त गरेको देखिएकाले भट्टराईविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर भएको अख्तियारको ठहर छ ।

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजायको मागदाबी गरेको छ ।