प्रि–डायबिटिज अर्थात् मधुमेह हुनुअघिको अवस्थामा रहेका वयस्कमा गरिएको आठ हप्ते अध्ययनमा एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमतामा सुधार देखिएको थियो । विशेषगरी पुरुष सहभागीको रक्तचापमा सकारात्मक परिवर्तन आएको अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनमा २५ देखि ६० वर्ष उमेर समूहका ८२ जना सहभागी थिए । उनीहरू सबैमा प्रि–डायबिटिजको अवस्था थियो भने शरीरको तौल सामान्यभन्दा बढी थियो ।
अनुसन्धानमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई दैनिक एउटा मध्यम आकारको ह्यास एभोकाडो र एक कप ताजा आँप खुवाइएको थियो । अर्को समूहलाई सोही बराबर क्यालोरी भएका कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ दिइएको थियो ।
आठ हप्तापछि एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमता मापन गर्ने फ्लो–मेडिएटेड डाइलेसन (एफएमडी) सूचक ६ दशमलव ७ प्रतिशत पुगेको थियो । यसको विपरीत अर्को समूहमा उक्त सूचक घटेर ४ दशमलव ६ प्रतिशतमा झरेको थियो । एफएमडीले रक्तप्रवाह बढ्दा रक्तनली कति प्रभावकारी रूपमा फैलिन सक्छ भन्ने मापन गर्छ ।
रक्तचापमा पनि सकारात्मक परिवर्तन देखिएको थियो । नियन्त्रण समूहका पुरुष सहभागीको केन्द्रीय रक्तचाप औसत ५ एमएमएचजीले बढ्दा एभोकाडो र आँप खाने समूहमा करिब १ दशमलव ९ एमएमएचजीले घटेको थियो ।
अनुसन्धानकर्ताका अनुसार रक्तनलीको कार्यक्षमता र रक्तचापमा देखिएका यी परिवर्तन मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउने दृष्टिले महत्त्वपूर्ण हुन सक्छन् । तर, अध्ययन आठ हप्तामात्र गरिएको र यसले हृदयाघात वा मस्तिष्काघातजस्ता दीर्घकालीन स्वास्थ्य परिणाम मापन नगरेकाले यसको प्रभावबारे थप अनुसन्धान आवश्यक छ ।
अध्ययनमा यी फल खाँदा सहभागीको शरीरको तौल वा कुल क्यालोरी सेवनमा उल्लेख्य परिवर्तन देखिएन । यसले तौल नबढाई पनि खानाको पोषण गुणस्तरमा सुधार गरेर मुटुको स्वास्थ्यलाई सहयोग पुग्न सक्ने संकेत गरेको अनुसन्धानकर्ताको भनाइ छ ।
एभोकाडो र आँप खाने समूहले फाइबर, भिटामिन सी र असन्तृप्त बोसो बढी सेवन गरेका थिए । यी पोषक तत्त्वले मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छन् । एभोकाडोमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा भूमिका खेल्छ भने यसको असन्तृप्त बोसोले अस्वस्थ बोसोको सट्टा प्रयोग गर्दा खराब कोलेस्ट्रोल (एलडीएल) घटाउन सहयोग गर्न सक्छ ।
आँपमा पाइने भिटामिन सीले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन मद्दत गर्छ । यसमा रहेको फाइबरले पाचन, रगतमा चिनीको मात्रा व्यवस्थापन र मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छ ।
अनुसन्धानमा मिर्गौलाको कार्यक्षमतासँग सम्बन्धित केही सूचकमा पनि सुधार देखिएको थियो । तर, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र शरीरमा हुने सुजनका सूचकमा भने नियन्त्रण समूहको तुलनामा उल्लेख्य फरक देखिएन ।
इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक तथा अध्ययनकी प्रमुख अनुसन्धानकर्ता ब्रिट बर्टन–फ्रिम्यानका अनुसार प्रि–डायबिटिज भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी हुने भएकाले खानपानमा पोषणयुक्त फलफूल समावेश गर्नु उपयोगी हुन सक्छ । उनका अनुसार दैनिक खानामा एभोकाडो र आँपजस्ता फल थप्नु मुटुको स्वास्थ्य सुधारका लागि सहज उपाय हुन सक्छ ।
यद्यपि, अध्ययनले एभोकाडो र आँप सँगै खाँदा छुट्टाछुट्टै सेवन गर्नुभन्दा बढी फाइदा हुन्छ भन्ने पुष्टि गरेको छैन । अनुसन्धानमा सहभागी सीमित समूह र छोटो अवधिका कारण यसको निष्कर्ष सबै उमेर तथा स्वास्थ्य अवस्था भएका व्यक्तिमा समान रूपमा लागू हुन्छ भन्न सकिँदैन ।
यो अध्ययन नेसनल म्याङ्गो बोर्ड र ह्यास एभोकाडो बोर्डको आर्थिक सहयोगमा गरिएको थियो । अध्ययनको डिजाइन र निष्कर्ष निर्धारणमा ती संस्थाको भूमिका नरहेको अनुसन्धानकर्ताले जनाएका छन् ।

प्रतिक्रिया