काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७ रन जोडे । दीलिप नाथले २५, ओपनर आसिफ शेखले २१, रुबेन ट्रम्पेलमले १५ र समिम हुसेनले १३ रन बनाए ।
जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यावदले समान दुई विकेट लिए । ललित राजवंशी, कप्तान हर्मित सिंह र अभिषेक तिवारीले समान एक विकेट लिए ।
ललित जारी सिजनमा गोल्डेन डक आउट गर्ने पहिलो बलर बने । उनले लुम्बिनीका डार्सी सर्टलाई ‘गोल्डेन डक’ आउट गर्दै पभेलियन फर्काए । ललितले पहिलोे ओभरको पहिलो बलमा डार्सीलाई राहुल यादवबाट क्याच गराएका हुन् । डार्सीले ललितविरुद्ध चौका प्रहार गर्ने प्रयास गर्दा राहुलबाट क्याच हुन पुगेका थिए ।
खेलमा शीर्ष स्थानमा रहेको लुम्बिनी जित निकाल्दै तालिकामा अंक दुरी बढाउने लक्ष्यमा छ । पाँच अंक बटुलेको लुम्बिनीले तीन खेल खेल्दा दुई जित निकालेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
जनकपुर भने जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ । जनकपुर चार अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुरले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।

प्रतिक्रिया