काठमाडौं । चिप निर्माता कम्पनी एनभिडियाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको भविष्यबारे छलफल गर्न लागेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ ।
बुधबार कारोबार समयपछिको कारोबारमा एनभिडियाको सेयर मूल्य ८.६ प्रतिशतले घटेको हो । ४.२ ट्रिलियन डलर बजार मूल्य भएको कम्पनीको नेतृत्वमा ह्वाङको निरन्तरताबारे प्रश्न उठ्न थालेपछि सेयर मूल्यमा गिरावट आएको हो ।
द न्युयोर्क टाइम्स, द वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सले एनभिडियाको सञ्चालक समितिले ह्वाङको पदबारे छलफल गर्ने समाचार प्रकाशित गरेका थिए । उनीमाथि एनभिडियाकै एक कर्मचारीसँग विवाहबाह्य सम्बन्ध राखेको र चिनियाँ गुप्तचर निकायसँग काम गरेको आरोप लागेकी महिलासँग पनि सम्बन्ध रहेको आरोप छ ।
एनभिडियाले आइतबारदेखि ह्वाङमाथि अनुसन्धान सुरु गरेको थियो । यस विषयमा अलजजिराले प्रतिक्रिया माग्दा कम्पनीले तत्काल जवाफ दिएन ।
सन् १९९३ मा एनभिडियाको सहस्थापना गरेका ह्वाङ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारका सबैभन्दा चर्चित अनुहारमध्ये एक हुन् । उनी उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) को विकासमा नेतृत्वदायी भूमिकामा छन् । यस्ता जीपीयूको प्रयोग अत्याधुनिक एआई मोडललाई तालिम दिन र सञ्चालन गर्न गरिन्छ ।
छालाको ज्याकेट लगाउने शैलीका कारण पनि चर्चित प्रविधि क्षेत्रका यी कार्यकारी अमेरिका र चीनबीचको भूराजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छन् । दुवै देश एआई क्षेत्रमा विश्वव्यापी प्रभुत्व कायम गर्ने होडमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने ह्वाङले चीनमा उच्च क्षमताका चिप निर्यातमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउन पैरवी गर्दै आएका छन् । यसले वासिङ्टनका राष्ट्रिय सुरक्षा मामिलाका कट्टरपन्थी अधिकारीहरूसँग उनको मतभेद सिर्जना गरेको छ । ती अधिकारीहरू बेइजिङलाई अमेरिकाको अत्याधुनिक प्रविधिमा पहुँच दिन नहुने तर्क गर्छन् ।
नेतृत्व परिवर्तन भए ठूलो धक्का
यदि एनभिडियाको सञ्चालक समितिले ६३ वर्षीय ह्वाङलाई पदबाट हटाउने निर्णय गरेमा त्यो कम्पनीका लागि ठूलो परिवर्तन हुनेछ ।
एनभिडियालाई विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक बनाउने यात्रामा ह्वाङको भूमिका निर्णायक मानिन्छ । कम्पनीको दैनिक सञ्चालनदेखि रणनीतिक निर्णयसम्ममा उनको केन्द्रीय भूमिका रहँदै आएको छ । उनी केन्द्रीकृत नेतृत्व शैलीका लागि परिचित छन् ।
सानफ्रान्सिस्कोस्थित सीपोर्ट रिसर्च पार्टनर्सका वरिष्ठ विश्लेषक जे गोल्डबर्गले अलजजिरासँग भनेका छन्, ‘जेन्सेन नै एनभिडिया हुन् । उनीबिना कम्पनीले आफ्नो केन्द्रीय र प्रेरणादायी शक्ति गुमाउँछ ।’
उनले ह्वाङलाई प्रतिस्थापन गर्नु संस्थागत रूपमा निकै कठिन हुने र व्यक्तित्वका हिसाबले असम्भवजस्तै रहेको बताए ।
एनभिडियाले नेतृत्व हस्तान्तरणको कुनै योजना बनाएको छ वा छैन भन्ने स्पष्ट छैन । विश्लेषकहरूले ह्वाङको स्थान लिन सक्ने स्पष्ट उत्तराधिकारी पनि देखेका छैनन् ।
योर्कभिल आइभ्सका वरिष्ठ प्रबन्ध निर्देशक ड्यान आइभ्सले ह्वाङलाई एनभिडियाको ‘मुटु र फोक्सो’ को संज्ञा दिएका छन् । उनले ह्वाङको सम्भावित उत्तराधिकारीलाई लगानीकर्ताले नजिकबाट नियाल्ने बताए ।
आइभ्सले ग्राहकहरूलाई पठाएको एक टिप्पणीमा ह्वाङ सीईओ रहँदा एनभिडियाको सेयरको मूल्य प्रतिकित्ता ३०० डलर र उनीबिना २२५ डलर हुने आफूहरूको अनुमान रहेको उल्लेख गरेका छन् ।
उनले कम्पनीले अहिलेको संकट पार गर्ने र एआई क्रान्तिको आधारभूत हिस्साका रूपमा आफ्नो स्थान कायम राख्ने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘जेन्सेनलाई अर्को कुनै सीईओ वा अन्तरिम कार्यकारीहरूको समूहले प्रतिस्थापन गर्न सक्दैन । तर अब सम्भवतः एनभिडियाले उनको नेतृत्वबिना नै अघि बढ्नुपर्ने हुन सक्छ । आइतबार दिउँसो खबर सार्वजनिक हुनुअघिसम्म यस्तो अवस्था कल्पना गर्नसमेत कठिन थियो ।’
अन्तर्राष्ट्रिय गुप्तचर मामिलासँग जोडिएको विवाद
पछिल्लो एक सातादेखि ह्वाङसँग सम्बन्धित खबरले अन्तर्राष्ट्रियस्तरमा चासो बढाएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ राज्य सुरक्षा मन्त्रालयले आफ्नो प्रभावमा पारेको निष्कर्ष निकालेकी एक चिनियाँ महिलासँग ह्वाङको सम्बन्ध रहेको खबर सार्वजनिक भएको छ ।
अमेरिकी अधिकारीहरूले ती महिलासम्बन्धी आरोपको पुष्टि गर्ने प्रमाण भने सार्वजनिक गरेका छैनन् ।
चिनियाँ प्रविधि क्षेत्रकी कार्यकारी एलिस ह्वाङ नामकी ती महिला सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी हुन् । उनले आफूमाथि लागेका आरोपबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
चीनको विदेश मन्त्रालयले भने ती आरोप अस्वीकार गरेको छ । मन्त्रालयले आरोपलाई ‘पूर्णतः आधारहीन, अड्कलबाजीमा आधारित र चीनलाई बदनाम गर्ने उद्देश्यले लगाइएको’ भनेको छ ।
एनभिडियाको सञ्चालक समितिले आइतबार ह्वाङ विदेशी गुप्तचर निकायको निशानामा परेका हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको थियो । तर समितिले ह्वाङप्रति विश्वाससमेत व्यक्त गरेको थियो ।
ह्वाङले आफ्नी पत्नीप्रति आफू ‘इमानदार रहन नसकेको’ स्वीकार गर्दै परिवारसँग माफी मागेका छन् । उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र एनभिडिया तथा अमेरिकी राष्ट्रिय सुरक्षाको संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया