लुम्बिनीको प्लेअफ पक्का, बाहिरियो कर्णाली

लुम्बिनीको प्लेअफ पक्का, बाहिरियो कर्णाली


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरेको छ ।

बिहीबार कर्णाली याक्सलाई ४ विकेटले हराउँदै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो । ५ खेलबाट ८ अंक जोडेको काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान लगभग पक्का गरेको छ ।

यता हारेको कर्णाली प्लेअफ दौडबाट बाहिरिएको छ ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि डी’आर्सी सर्टले ४६ रन बनाए । निरोशन डिकवेलाले १६ रन जोडे । दिलीप नाथ २८ रनमा अविजित रहे ।

कर्णालीका मार्क वाटले ४ विकेट लिए पनि लुम्बिनीलाई लक्ष्यतर्फ अघि बढ्नबाट रोक्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा अलआउट भएर १०५ रनमा समेटिएको थियो ।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २४ तथा पवन सर्राफले १२ रन जोडे ।

गुल्सन झाले १३ रन बनाए । कप्तान डेभिड मिलर ५ रनमा आउट भए भने दीपेन्द्र रावतले खाता खोल्न सकेनन् ।

लुम्बिनीका रोहित पौडेलले २ विकेट लिए । अभिषेक गौतमले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । डी’आर्सी सर्टले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । किशोर महतोले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले पनि समान १-१ विकेट लिए ।