छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा

छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिइएको जनाएको हो । यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब छठ पर्वका अवसरमा कात्तिक २९ र ३० गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।