शीर्ष स्थानको लक्ष्यसहित लुम्बिनी मैदानमा, विराटनगरलाई प्लेअफको दबाब

शीर्ष स्थानको लक्ष्यसहित लुम्बिनी मैदानमा, विराटनगरलाई प्लेअफको दबाब


 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एकमात्र खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ। प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको लुम्बिनीका लागि आजको खेल शीर्ष स्थानमा पुग्ने अवसरसमेत हो।

लुम्बिनीले अहिलेसम्म ६ खेल खेलेकोमा चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल रद्द हुँदा चितवन राइनोजसँग अंक बाँडेको थियो। लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने काठमाडौं गोर्खाजसँग हार बेहोरेको थियो।

यता, अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि भने आजको खेल निकै महत्त्वपूर्ण छ। प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगर आज जितको खोजीमा मैदान उत्रनेछ।

विराटनगरले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ। उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने पराजित भएको थियो।

आजको खेलमा लुम्बिनी शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रँदा विराटनगर प्लेअफको सम्भावना बलियो बनाउने योजनामा हुनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ।