बयानका लागि नआएपछि अभिषेक गिरीको घरमा प्रहरीको सूचना टाँस

बयानका लागि नआएपछि अभिषेक गिरीको घरमा प्रहरीको सूचना टाँस


विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि बयान दिन उपस्थित नभएपछि प्रहरीले विवादास्पद पृष्ठभूमिका अभिषेक गिरीको घरमा सूचना टाँस गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि उपस्थित हुन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने व्यक्ति नभेटिएपछि शुक्रबार गिरीको घरको भित्तामा सूचना टाँस गरेको हो । प्रहरीले गत कात्तिक १९ गते गिरीलाई पत्र पठाउँदै दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन आग्रह गरेको थियो । तर, निर्धारित समयभित्र उनी प्रहरीको सम्पर्कमा नआएपछि कानुनी प्रक्रियाअनुसार घरमै सूचना टाँस गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने सूचना पाएपछि गिरी फरार भएका छन् । उनी गत असोजदेखि भारतमा रहेको प्रहरी स्रोतको दाबी छ । आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोप लागेका गिरीमाथि अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएपछि गत असार १३ गते गिरी पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप नभएर असार २३ गते छुटेका उनलाई सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनः पक्राउ गरेको थियो ।

त्यसपछि साउन २१ गते छुटेका उनलाई मोरङ प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो । उजुरीकर्तासँग मिलापत्र भएपछि उनी छुटेका थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीमाथि मोरङ कारागारभित्र असुली धन्दा चलाएको र निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोपसमेत लाग्दै आएको छ । नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका गिरी पछिल्लो समय पार्टीको १५औँ महाधिवेशनमा समेत सार्वजनिक रूपमा देखिएका थिएनन् । आफ्नै नेतृत्वमा स्थापना गरेको गिरी फाउन्डेसनमार्फत उनी सामाजिक गतिविधिमा पनि संलग्न हुँदै आएका थिए ।