क्षतिग्रस्त खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस

क्षतिग्रस्त खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस


काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य पुनःस्थापना गर्न थालेको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र हजारौँ मानिसको चहलपहलका कारण बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षणमा पार्टीका नेता–कार्यकर्ता जुटेका छन् ।

महाधिवेशनका क्रममा सार्वजनिक स्थलमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै कांग्रेसको आलोचना भएको थियो । कार्यक्रमअघि नै खुलामञ्चलाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको पार्टीले अहिले सोहीअनुसार पुनःस्थापनाको काम अघि बढाएको हो । क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम भइरहेको छ ।

आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।

काठमाडौं महानगरपालिका समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि जुन अवस्थामा खुलामञ्च लिइएको थियो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे ।

“महाधिवेशनस्थलका रूपमा खुलामञ्च प्रयोग गर्दा वर्षाका कारण अनुमान गरेभन्दा बढी क्षति भयो । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतले दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,” उनले भने ।

खुलामञ्च कुनै राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई देशकै साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसको संरक्षण सबैको दायित्व भएको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ ।

कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्त्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन् । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतले क्षति पुगेको देखेपछि त्यसको पुनःस्थापनामा पार्टी आफैँ सक्रिय भएको उनले बताइन् ।

“यो ऐतिहासिक धरोहर हो । काठमाडौंको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्त्व छ । यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो । कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,” उनले भनिन् ।

महाधिवेशनपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा टुँडिखेलमा पुगेको क्षतिबारे टिप्पणी गरेको प्रसङ्गमा सहमहामन्त्री गौतमले त्यसलाई पुनःस्थापना अभियानको कारण नभएको स्पष्ट पारिन् । “प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थान जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,” उनले भनिन् ।

कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा अस्थायी संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतले दुबोलगायतका संरचनामा क्षति पुगेको बताए । महानगरपालिकाले क्षतिको विषय उठाएपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले जानकारी दिए । पुनःस्थापनापछि पनि नियमित सिँचाइ र संरक्षणको व्यवस्था गरिने उनको भनाइ छ ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले महाधिवेशनका क्रममा प्रयोग गरिएको सार्वजनिक स्थलमा पुगेको क्षति सुधार्नु पार्टीको कर्तव्य भएको बताए । बिग्रिएको दुबोलाई पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो ल्याएर पुनःरोपण थालिएको उनले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन् । “यो राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसले आफैँ दुबो रोप्ने कार्यक्रम गरेको हो । जति क्षति भएको छ, त्यसको परिपूर्ति गर्छौँ भनेर हामीले त्यतिबेलै प्रतिबद्धता जनाएका थियौँ,” उनले भनिन् ।

३० दिनभित्र पुरानै अवस्थामा फर्काउने लक्ष्य

दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ । रोपिएको दुबोलाई आवश्यकताअनुसार थिच्ने, माटो मिलाउने, खनजोत गर्ने तथा सिँचाइ र मलखादको व्यवस्था गरेर कामलाई पूर्णता दिइनेछ ।

उनका अनुसार अहिलेको मौसममा दुबोलाई पूर्ण रूपमा स्थापित गरी खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कम्तीमा ३० दिन लाग्ने अनुमान छ । काम सम्पन्न भएपछि त्यसको वास्तविक लागत विवरणसमेत तयार गरिने उनले बताए ।

खुलामञ्च सर्वसाधारणका लागि खुला हुनुपर्ने बहस

दुबो पुनःरोपणसँगै कांग्रेसका नेताहरूले खुलामञ्चको दीर्घकालीन संरक्षण र सर्वसाधारणको पहुँचको विषयसमेत उठाएका छन् । महानगर सभापति वैद्यले खुलामञ्चलाई घेराबन्दी गरेर सर्वसाधारणको पहुँच सीमित गर्नु यसको मूल मर्मविपरीत हुने बताए ।

उनले विगतमा खुलामञ्चका सटर हटाउने, टुँडिखेल खुला गर्ने तथा भूमिगत पार्किङ निर्माण गर्ने योजनाविरुद्ध आफूहरूले आन्दोलन गरेको स्मरण गरे । खुलामञ्च काठमाडौंको ऐतिहासिक गहना मात्र नभई नागरिकले सहज रूपमा उपयोग गर्न पाउनुपर्ने सार्वजनिक स्थल भएको उनको भनाइ छ ।

“खुलामञ्चको आत्मा भनेको नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउनु हो । यसलाई जेलजस्तो बन्द गरेर सर्वसाधारणलाई प्रवेश निषेध गर्नु यसको मर्म होइन,” उनले भने ।

सार्वजनिक स्थलमा फोहोर नगर्ने, हरियाली नष्ट हुन नदिने र साझा सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा कांग्रेसका नेताहरूले जोड दिएका छन् । ठूला राजनीतिक कार्यक्रमपछि सार्वजनिक सम्पत्तिमा पुग्ने क्षतिको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बहस भइरहेका बेला कांग्रेसले थालेको पुनःस्थापना अभियानले सार्वजनिक सम्पत्तिप्रति आयोजकको जवाफदेहिताको सन्देश दिएको छ ।