काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पुर्याएको खुलेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई कात्तिक २८ गते पक्राउ गरेको थियो । थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुको प्रोफाइलिङ तथा जाँच गर्ने क्रममा उनको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा हेरोइन फेला परेको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए । उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
‘पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति हुन् । यसअघि पनि उनले दुई पटक लागुऔषध भारत पुर्याएको देखिन्छ,’ निरौलाले भने ।
यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल आएका थिए । अनुसन्धानका क्रममा उनले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको ब्यूरोले जनाएको छ ।
प्रहरीले तिघारेको साथबाट साढे ५ किलो सेतो हेरोइन, एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र बरामद गरेको छ ।
बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्ने ब्यूरोले जनाएको छ । भारत पुगेपछि यसको मूल्य अझ बढी हुने प्रहरीको भनाइ छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार तिघारेमाथि थप अनुसन्धान भइरहेको छ ।
लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया