काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।
काठमाण्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।
पोखराका लागि भुर्तेल शतक बनाउन एक रनले चुके । उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए । सामराले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे ।
भुर्तेल १८.२ ओभरमा ९९ रन बनाएर आउट भए । त्यसको तीन बलपछि सामरा पनि ८९ रनमा पेभेलियन फर्किए । पहिलो विकेटका रूपमा अर्जुन कुमाल ६ बलमा ५ रन बनाएर आउट भएका थिए । कप्तान चमिका करुणारत्ने १९ र धनञ्जय लक्षण २ रनमा अविजित रहे ।
काठमाण्डुका करण केसीले दुई तथा जहान्दाद खानले एक विकेट लिए ।
यसअघि एनपीएल इतिहासमा अहिलेसम्मको उच्च स्कोर विराटनगर किंग्सको नाममा थियो । विराटनगरले सन् २०२५ मा पोखराविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।

प्रतिक्रिया