ढोरपाटन घुम्न आउने पर्यटकको नयाँ आकर्षण बन्दै जलजला

ढोरपाटन घुम्न आउने पर्यटकको नयाँ आकर्षण बन्दै जलजला


 

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा अवस्थित जलजला क्षेत्र ढोरपाटन सिकार आरक्ष भ्रमणमा आउने पर्यटकका लागि सहायक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । सडक पहुँच विस्तार, प्रचारप्रसार र गोठस्टे सञ्चालन हुन थालेपछि जलजला पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । ढोरपाटन उपत्यका घुम्न आउने पर्यटक हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल र प्राकृतिक वातावरणको अवलोकन गर्न जलजला पुग्न थालेका छन् । बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना, खोरिया, मरेनी, जलजला हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि यहाँ पर्यटकको आवागमन बढेको हो । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा सात वर्षदेखि गोठस्टे सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२, लुलाङका फुलबहादुर विकले पछिल्लो समय दैनिकजसो पर्यटक आउन थालेको बताउनुभयो ।

“यसअघि ढोरपाटन आएका सीमित पर्यटक मात्रै जलजला पुग्थे,” उहाँले भन्नुभयो, “म्याग्दी, ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार–पाँच वटा गाडी र १५–२० वटा मोटरसाइकलमा पर्यटक आउन थालेका छन् ।” बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग गत फागुनमा खुलेपछि पुथाउत्तरगङ्गा र ढोरपाटन घुम्न आउने पर्यटकले जलजला हुँदै मुना फर्कने मार्ग रोज्न थालेका धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विश्वकर्माले बताउनुभयो ।

जलजलाको समथर घाँसेमैदान, पृष्ठभूमिमा देखिने हिमशृङ्खला, सूर्योदय र सूर्यास्त यहाँका प्रमुख आकर्षण हुन् । वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँस, वन्यजन्तु तथा चराचुरुङ्गीको आवाज र शान्त वातावरणले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट मौसमअनुसार प्राकृतिक दृश्य, वनजङ्गल र पशुगोठको अवलोकन गर्न पाइन्छ ।

रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटका भीषण खत्रीले जलजलाको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आफूलाई आकर्षित गरेको बताउनुभयो । “शान्त वातावरण, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी र पशुगोठमा रमाउँदा समय बितेको पत्तै हुँदैन,” उहाँले भन्नुभयो, “समथर फाँटबाट आँखै अगाडि देखिने हिमशृङ्खलाले चित्रकारले तयार पारेको चित्रको झल्को दिन्छ ।” गुरिल्ला पदमार्ग तथा म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा स्थायी बस्ती, होटल र रेस्टुरेन्ट छैनन् । तल्लो र माथिल्लो जलजलाका गोठमा पाहुनाका लागि खाना र बासको व्यवस्था छ । गोठस्टेमा च्याउ, टुसा, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही तथा भेडा र खसीको मासुका परिकार उपलब्ध हुन्छन् । क्याम्पिङ गर्न जाने पर्यटकले भने आवश्यक सामग्री आफैँ लैजानुपर्छ ।

ढोरपाटनको पाखाथरबाट कच्ची सडक हुँदै जिप वा मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेटमा जलजला पुग्न सकिन्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा करिब दुई घण्टा लाग्छ । पैदलयात्रा गरेर जलजला पुग्न भने पाँचदेखि छ घण्टा लाग्छ । जलजला क्षेत्रको जङ्गल दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्डा०को बासस्थानसमेत हो । जलजला धवलागिरि गाउँपालिकाका मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र पनि हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि रहेको बताउनुभयो । वर्षायाममा अवरुद्ध हुने सडकमा जिप र मोटरसाइकल चल्न सक्ने गरी सुधार गरिएको र थप मर्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्था गर्नुका साथै पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोट जोड्ने रेडपान्डा पदमार्गको अवधारणा अघि सारेर सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने भएकाले जलजलामा पर्यटकीय पूर्वाधार विस्तार गर्न नीतिगत समस्या रहेको अध्यक्ष पुनको भनाइ छ । सडक पहुँच विस्तारसँगै पर्यटकको आकर्षण बढ्दै गएको जलजलामा आवश्यक पूर्वाधार निर्माण हुन सके यस क्षेत्रको पर्यटन विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।