एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको छ । उनी निर्विरोध रूपमा अध्यक्ष चयन भएका हुन् ।
आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड तथा समितिका बैठकमा आईसीसीका निर्देशकहरूले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
आईसीसी बोर्डले शाहको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै क्रिकेटको भविष्यका योजना अघि बढाउन निरन्तरता कायम राख्ने उद्देश्यले उनलाई पुनः अध्यक्ष चयन गरेको जनाएको छ ।
पुनः अध्यक्ष चयन भएपछि शाहले आईसीसी बोर्डले आफूमाथि देखाएको विश्वासप्रति सम्मान व्यक्त गरेका छन् । उनले निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभार व्यक्त गर्दै आईसीसी अध्यक्षका रूपमा काम गर्नु आफ्नो लागि सम्मान र जिम्मेवारी दुवै भएको बताएका छन् ।
३८ वर्षीय शाह यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए । उनले सन् २०२४ डिसेम्बरमा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया