विदेशी सैन्य अखडाको प्रस्ताव अस्वीकृत, इक्वेडरमा अमेरिकी उपस्थिति भने कायमै

विदेशी सैन्य अखडाको प्रस्ताव अस्वीकृत, इक्वेडरमा अमेरिकी उपस्थिति भने कायमै


काठमाडौं । इक्वेडरका राष्ट्रपति डानियल नोबोआले बन्दरगाह सहर ग्वायाकिल नजिक अमेरिकाको सैन्य अखडा रहेको भन्ने दाबी अस्वीकार गरेका छन् । विदेशी सैन्य अखडा स्थापना गर्न अनुमति दिने प्रस्ताव जनमतसंग्रहबाट अस्वीकृत भएको केही समयपछि उनले यस्तो बताएका हुन् ।

समाचार संस्था एएफपीले गत महिना तौरा एयर बेसमा अमेरिकी विमानहरूको असामान्य तैनाथी, दर्जनौँ पालको स्थापना र पूर्वाधार निर्माणका कामबारे विवरण सार्वजनिक गरेपछि आइतबार नोबोआको यस्तो प्रतिक्रिया आएको हो ।

एएफपीले जुनदेखि अक्टोबरको मध्यसम्म उक्त सैन्य अखडामा अमेरिकी सेनाका करिब २० वटा उडान भएको पनि पहिचान गरेको थियो । साथै, त्यहाँ अमेरिकी सैनिकहरूको उपस्थितिसम्बन्धी कागजातसमेत फेला पारेको थियो ।

नोबोआले अमेरिकी सैनिकहरू दुई देशबीचको सहकार्यअन्तर्गत ‘अस्थायी गतिविधि’का लागि मात्रै उक्त हवाई सैन्य अखडामा रहेको बताए ।

डिजिटल समाचार माध्यम अल्ताभोजसँग उनले भने, ‘कहिलेकाहीँ कुनै निश्चित मिसन हुन्छ । कहिलेकाहीँ निश्चित अभियान हुन्छ । हामी मिलेर काम गर्छौँ । यो अमेरिकी सैन्य अखडा होइन । यो इक्वेडरको सैन्य अखडा हो ।’

नोबोआले अमेरिकी विमानहरूको उपस्थितिबारे भने केही बताएनन् । पत्रकारले तौरा सैन्य अखडाको भ्रमण गर्न गरेको आग्रहलाई पनि उनले छल्दै जवाफ दिए ।

अमेरिकी सेनाको तैनाथीले त्यसको कानुनी वैधतामाथि प्रश्न उठाएको थियो । इक्वेडरका वरिष्ठ सैन्य अधिकारीहरूले समेत यसबारे चासो व्यक्त गरेका थिए ।

त्यतिबेलाका वायुसेना प्रमुख जनरल माउरिसियो सालाजारले अमेरिकी सेनाको तैनाथीको कानुनी वैधता स्पष्ट पार्न सशस्त्र बललाई आग्रह गरेका थिए । एएफपीले सेप्टेम्बरमा पठाइएको एउटा पत्रलाई उद्धृत गर्दै यो विवरण सार्वजनिक गरेको हो ।

त्यसपछि सालाजारलाई पदबाट हटाएर कम जिम्मेवारी भएको पदमा सरुवा गरिएको थियो ।

इक्वेडरमा अमेरिकी सैन्य उपस्थितिको वास्तविक दायरा सार्वजनिक गरिएको छैन । तर, लागुऔषध तस्करीविरुद्धको क्षेत्रीय अभियानमा क्विटो र वासिङ्टनबीच सहकार्य विस्तार हुँदै गएको छ ।

एएफपीले अक्टोबरमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन), अमेरिकी दक्षिणी कमान्ड र इक्वेडरको वायुसेनाले यसबारे सोधिएका प्रश्नको जवाफ दिएका थिएनन् ।

विदेशी सैन्य अखडाविरुद्ध जनमत

नोबोआले संविधान संशोधन गरी विदेशी सैन्य अखडा स्थापनामाथिको प्रतिबन्ध हटाउने अभियान चलाएका थिए । तर, गत वर्ष नोभेम्बरमा भएको जनमतसंग्रहमा इक्वेडरका मतदाताले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार संगठित आपराधिक समूहविरुद्धको कारबाहीमा अमेरिका इक्वेडरको प्रमुख साझेदार बनेको छ । अमेरिकाले इक्वेडरलाई उपकरण, तालिम, गुप्तचर सूचना र प्रत्यक्ष सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

न्युयोर्कस्थित उक्त मानव अधिकारवादी संस्थाले दुई देशबीचको सहकार्यलाई ‘जोखिमपूर्ण’ भनेको छ । संगठित अपराधविरुद्धको संघर्षलाई युद्धका रूपमा प्रस्तुत गर्ने दुवै सरकारको अडानका कारण गम्भीर मानव अधिकार उल्लङ्घनका घटना भएको उसको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अवैध लागुऔषध ओसारपसार गरिरहेको आरोप लागेका डुङ्गाहरूमाथि आक्रमण गर्दै आएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मेक्सिकोका लागुऔषध उत्पादन गर्ने प्रयोगशालामा बम आक्रमण गर्ने विषयमा पनि विचार गरेका थिए । गत वर्ष जनवरीमा दोस्रोपटक सत्ता सम्हालेपछि उनले यसअघि दिँदै आएको अभिव्यक्तिलाई नीतिगत रूप दिन थालेका छन् । उनले ल्याटिन अमेरिकामा सक्रिय केही लागुऔषध तस्करी समूहलाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गरेका छन् ।