काठमाडौं । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै आयोगले यसबारे अध्ययन तथा छलफल गर्ने बताए ।
उनले भने, ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था, अभ्यास सबै हेरेर यहाँ विषयहरू उठान गर्नुभएको छ । हामी पनि हेर्छौं, बुझ्छौं, पढ्छौं । मुख्य कुरा विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भनी अगाडि जाने कुरा हुन्छ । हामीलाई बल्ल विषयको बारेमा जानकारी भएको छ । हामी आउने दिनमा छलफल गर्नेछौं । तपाईंसँग फेरि छलफल गर्नुपरे फेरि बोलाउँछौं ।’
गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे ।
उनले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको भन्दै त्यसमा संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए ।

प्रतिक्रिया