काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । सुदूरपश्चिमले अब फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी यसअघि नै फाइनल पुगिसकेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले अविजित ५३ रन बनाए । उनले ४२ बलमा ७ चौका प्रहार गरे ।
विनोद भण्डारीले १३ बलमा २३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ र आरिफ शेखले १० रन जोडे ।
चितवनका लागि रञ्जित कुमारले २ तथा उसामा मिर, रिजन ढकाल, कमल ऐरी र सलाहुद्दिन खानले समान एक-एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
चितवनका लागि मलानले अविजित ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । सुरुवातदेखि नै दबाबमा परेको चितवनको इनिङ्स मलानले सम्हालेका थिए । सलाहुद्दिन खानले १८ रन बनाए ।
चितवनका कमल ऐरीले १०, कप्तान रवि बोपारा १, कामिल मिसारा ४, देव खनाल ६, विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमा आउट भए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया