काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद र सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार चौधरीले सेवा प्रवेश र बढुवाका क्रममा भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
उनले मार्कस स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायतका नक्कली कागजात पेस गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
ती प्रमाणपत्रका आधारमा चौधरी राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी) पदसम्म बढुवा तथा पदस्थापन भएका थिए । यसरी उनले राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको अख्तियारको ठहर छ ।
अख्तियारले चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरेको छ ।
सेवा प्रवेश र बढुवाका लागि पेस गरिएका शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया