काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो ।
श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्दा अर्यालको समेत संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको सीआईबीले जनाएको छ । यद्यपि, पक्राउ पुर्जी जारी भए पनि अर्याल पक्राउ परेका छैनन् । उनी प्रहरीको सम्पर्कमा समेत नरहेको बताइएको छ ।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् ।
त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ ।
यसरी संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको सीआईबीले जनाएको छ ।
सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराएको तथा संगठित समूहको लाभका लागि श्रमिकमाथि ठगी हुँदा पनि कानुनी उपचार नगरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया