विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा नेपाल र बंगलादेश भिड्ने

विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा नेपाल र बंगलादेश भिड्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गर्दै लर्ड्समा नेपाल र बंगलादेशबीच खेल आयोजना गर्ने घोषणा गरेको हो ।

लर्ड्समा हुने यो खेल विशेष हुनेछ । पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका दुई खेल पहिलोपटक एउटै दिन आयोजना हुन लागेका हुन् । नेपाल र बंगलादेशबीचको टी–२० खेलपछि सोही दिन मिडलसेक्सले टी–२० ब्लास्टअन्तर्गत घरेलु खेल खेल्नेछ ।

एमसीसीका अनुसार नेपाली र बंगलादेशी समर्थकले प्रत्यक्ष प्रसारण हेर्न सक्ने समयलाई ध्यानमा राखेर खेलको समय निर्धारण गरिनेछ ।

नेपालले लर्ड्समा दोस्रोपटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । यसअघि सन् २०१८ मा एमसीसीसँगको त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग उक्त मैदानमा खेलेको थियो । बंगलादेशको पुरुष टोलीले भने लर्ड्समा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्ने

एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

तालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।

नेपालले जुन ६ मा वर्म्स्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यस्तै, जुन ९ मा आयरल्यान्डसँग टी–२० खेल्ने नेपालले जुन ११ र १२ मा बेकनहममा थप दुई टी–२० खेल खेल्नेछ ।

भ्रमणका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त हुनेछन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पनि भ्रमणलाई स्वीकृति दिएको छ ।