काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको छ ।
दोहामा आइतबार भएको समूह ‘बी’ को खेलमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए । उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मयन यादवले २७, बसिर अहमदले अविजित १८ तथा पवन सर्राफले अविजित ९ रन बनाए । अर्जुन कुमाल ५ र देव खनाल शून्य रनमा आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको थियो । उसका लागि मुहम्मद शहजादले सर्वाधिक ४० र हरप्रीत सिंहले ३२ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३-३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन मात्र खर्चिए । कुशलले ५ ओभरमा १५ रन दिए । ललित राजवंशी, नन्दन यादव र राशिद खानले समान १-१ विकेट लिए ।
सन्दीप लामिछाने खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले ३ विकेट लिँदै ११ रन मात्र खर्चिएका थिए ।

प्रतिक्रिया