शेरबहादुरसहितका शीर्ष नेता सहभागी हुँदै भालुवाङ अधिवेशनमा

शेरबहादुरसहितका शीर्ष नेता सहभागी हुँदै भालुवाङ अधिवेशनमा


रुपन्देही । आजदेखि नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन दाङको भालुवाङमा हुन लागेको छ । अधिवेशनको उद्घान शेरबहादुर देउवा आफैँले गर्नेछन् भने अन्य शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् ।

मंसिर ५ गते गण्डकी प्रदेशबाट देउवाले प्रदेश अधिवेशनहरु उद्घाटन गरेका थिए । देउवा पक्षबाट प्रदेश सभापतिको मुख्य दावेदार रहेका रोज राणाका अनुसार अधिवेशनमा देउवासँगै नेताहरू शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महत, मोहन बस्नेतलगायत नेताहरू आउन लागेको र केही आइसकेका छन् । प्रदेशभरका १२ जिल्लाबाट २ हजार २ सय भन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी हुने उनले जानकारी दिए ।

प्रदेशमा रहेका ५२ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले १ हजार ९२, प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ९ सय १०, प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति ५२ सभापति, प्रतिनिधिसभाका क्षेत्रीय सभापति २५, स्थानीय तहका सभापति र पालिकाका निर्वाचित प्रमुख र उपप्रमुख लगायत सहभागी हुनेछन् । अधिवेशनको उदटनअघि देउखुरीका विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहितको र्‍याली आयोजना गरिएको छ ।

उद्घाटन सत्र सकिएपछि बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गर्नेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री (खुला) र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन् । प्रदेश सभापतिका लागि अहिले प्रदेशको संयोजक रहेका दाङका गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा युवा नेता रोज राणा, प्रदेश योजना आयोगका पूर्वसदस्य रुपन्देहीका डा. दामोदर भुसाल आकांक्षी छन् । तर नेताहरुबीच युवा समूहको प्रतिनिधित्व गर्ने र प्रदेशमा बढी प्रभावशाली मानिएका रोज राणालाई नै अघि सार्ने अनौपचारिक समझदारी गरिसकेका छन् ।

अहिलेका संयोजकलाई केन्द्रमा लैजाने र भुसाललाई अन्य जिम्मेवारीमा राख्नेगरी नेताहरुले योजना बनाएका छन् । देउवा समूहले लुम्बिनीपछि मंसिर १३ गते, कर्णाली, मंसिर १४ गते मधेश, मंसिर १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बाग्मती प्रदेश अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्न लागेको हो ।