भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह


काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनलगायत आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको थियो ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राईसहित सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।