प्रधानमन्त्रीको भारत भ्रमणले गुटको हैसियतबाहेक केही प्राप्त गरेनः झलनाथ खनाल

प्रधानमन्त्रीको भारत भ्रमणले गुटको हैसियतबाहेक केही प्राप्त गरेनः झलनाथ खनाल


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा कुनै नयाँ विषय नरहेको र यो सामान्य नियमित भ्रमणमा मात्र सीमित भएको टिप्पणी गर्नुभएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै खनालले पूर्वप्रधानमन्त्री, कूटनीतिज्ञ र विज्ञहरूसँग सल्लाह नगरी तथा सर्वमान्य राष्ट्रिय एजेन्डा नबनाई शाह एउटा गुटको प्रतिनिधित्व गर्दै भारत गएको आरोप लगाउनुभयो।

सोही कारण गुटको हैसियतअनुरूपको विषयबाहेक देशका लागि ठोस उपलब्धि हासिल हुन नसकेको उहाँको भनाइ छ।

विगतमा शाहले राखेको ‘ग्रेटर नेपाल’को नक्सा जनता झुक्याउने लहड मात्र रहेको अहिलेको भ्रमणले पुष्टि गरेको खनालले बताउनुभयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमानामा बाटो बनाएर उद्घाटन गरेको विषयमा व्याख्या गर्दा समेत प्रधानमन्त्री शाहले मौन रहेर सुनेको र नेपालको राष्ट्रियताको सवालमा कुनै कुरा नउठाएको उहाँको आरोप छ।

साथै, भ्रमणका क्रममा घोषणा भएको सहयोग ऋण हो वा अनुदान भन्नेबारे स्पष्ट व्याख्या नआएको र परराष्ट्रमन्त्री स्तरबाटै हुन सक्ने सामान्य कामका लागि प्रधानमन्त्रीको भ्रमण भएको भन्दै खनालले असन्तुष्टि व्यक्त गर्नुभएको छ।