काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि समितिले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले आवश्यक कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, अपनाइएको प्रक्रिया र आयोजनामा परेको प्रभावबारे थप अध्ययन गरिने बताए । उनले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले मधेश प्रदेश मात्र नभई समग्र मुलुकलाई असर पार्ने बताए । ठेक्का रद्द हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीलाई मात्र आधार बनाएर आयोजनाको क्षति मूल्यांकन गर्न नहुने उनको भनाइ थियो ।
मधेशलाई देशको अन्न भण्डारका रूपमा उल्लेख गर्दै खड्काले आयोजना समयमै सम्पन्न हुन नसक्दा कृषि उत्पादनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म असर पुग्न सक्ने बताए । समितिले प्राप्त कागजातको अध्ययनपछि यस विषयमा विस्तृत छलफल गरी आवश्यक निष्कर्ष निकाल्ने जनाएको छ ।

प्रतिक्रिया